काठमाडौं । आज विजया दशमी। आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बडादसैंको टीकाको उत्तम साइत आज बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।
विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ। विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ।
घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ। केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन्।
नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ।