दसैँ बिदामा देशभरका आयल निगमका डिपोहरु खुला हुने

काठमाडौं : नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै डिपोहरु खुला रहने जनाएको छ। निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३ डिपोहरु खुला राख्ने जानकारी दिएको छ

दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपोहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए। उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन्।

यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन्। उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन्। यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुनेछ ।
बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा १३ वटा डिपोहरू विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ। निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजेल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ।

प्रतिक्रिया दिनुहोस