रौतहटमा तलब नपाए पछि,शिक्षकले नगरपालिकामा बुझाए ज्ञापनपत्र

रौतहट : रौतहटको फतुवा विजयपुरमा शिक्षकहरूले दशैंको मुखमा तलब नपाएको भन्दै आक्रोशित बनेका छन्। सो नगरपालिका अन्तरगत कार्यरत शिक्षकहरुले साउन महिनादेखि तलब पाएका छैनन्।

तलब पाउने सम्भावना नदेखेपछि शिक्षक संगठनका नगर उपाध्यक्ष राधेश्याम यादवको नेतृत्वमा नगरपालिका कार्यालयमा पुगेका उनीहरुले तलब समयमै उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

उनीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन्। कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको नाममा लेखिएको ज्ञापनपत्रमा सोमबारसम्म आफूहरुको तलबको बारेमा कुनै निर्णय नभए नगरप्रमुख र शिक्षा प्रमुखको कार्यकक्षमा ताला लगाउने चेतावनीसमेत दिएका छन्।

सो कार्यबाट हुने असुविधाको सम्पूर्ण जिम्मेवारी कार्यवाहक नगर प्रमुख खातुनले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। सो नगरपालिका अन्तरगतका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र विद्यालय सहयोगीहरुलाई प्रथम चौमासिकको शिक्षकहरुले तलब उपलब्ध नभएको ​टेंग्राहा माविका प्रधानाध्यापक अनिल यादवले बताएका छन्।

आफूहरुले दशैँ जस्तो महान पर्वका बेला पनि तलब नपाएर मर्कामा परेको शिक्षकहरुको भनाइ छ। चार महिनादेखि तलब नपाउँदा समस्या आएको र भोको पेट पठनपाठन गराउन मुश्किल परेको स्थानीय शिक्षक हरिवंश यादवले बताएका छन्।

काम गरेको तलब समयमा नपाउँदा घरपरिवार चलाउन समस्या परेको यादवले बताएका छन्।

प्रतिक्रिया दिनुहोस