हाम्रो भाग खोस्ने हो भने प्रचण्ड सँगै लड्न जान्छौँ : नेका नेता गुरुराज

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसको भाग खोसेर चुनाव जित्न चुनौति दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै घिमिरेले पार्टीभित्रको एकता नभइ गठबन्धनमा मात्रै सिटको भागबण्डा मिलाएर कसैले चुनाव जित्न नसक्ने बताएका छन्।

‘त्यस्तैगरी गठबन्धनको मुख्य घटक माओवादी हो। माओवादी र हाम्रो पार्टीको तर्फबाट सिट बाँडफाँट गर्दा जुन आधार अपनाइएको छ। यसबाट हाम्रो पार्टीका साथीहरुलाई अन्याय हुने देख्यौँ मोरङ ४ कांग्रेसको बर्चस्व रहेको क्षेत्र हो। त्यहाँ मैले आकांक्षा राखेको छु।’ उनले भने, ‘तर त्यो क्षेत्र माओवादीलाई दिने भन्ने कुरा आयो। हाम्रो भाग खोस्ने हो भने हामी उहाँसँगै लड्न जान्छौँ। हामी किन उहाँको भाग खोस्न नजानेरु’

उनले पार्टीभित्र समान अवसर र न्यायका लागि आफूहरुले खबरदारी गरेको बताए। १४ गतेसम्म समानुपातिकतर्फको सुची नसच्चिए आफूहरुले विद्रोह गर्ने चेतावनी उनले दिए।

उनले भने, ‘समानुपातिकको बन्द सूची बनाउँदा पार्टीभित्र गुटगत शैलीमा बनाइएको छ। हामीले सभापतिज्यू, शेखर दाइसहित गठबन्धन नेताहरुलाई पनि खबरदारी गरेका हौँ। कांग्रेसभित्रको सहमति नबनी गठबन्धनका दलहरुमा भागवण्डा गरेर मात्रै हुँदैन। पार्टीको आन्तरिक एकतालाई सुदृढ गरेर पार्टी नेतृत्वले गर्नुपर्छ।’

आफूहरुले भाग खोजेको नभएर न्यायोचित बाँडफाँट हुनुपर्ने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस