काठमाण्डौं : नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा मन्त्रीका दाबेदार थिए । अन्तिम समयसम्म मन्त्रीको दाबीमा रहेका भट्टराईको पक्षमा जिल्लाका नेताहरूले लविङ पनि बढाएका थिए । तर, परिस्थिति भट्टराईको पक्षमा देखिएन । त्यही कारण हुन सक्छ, ओलीले प्रमुख सचेतकको जिम्मेवारी दिए । नेकपाकालमा प्रमुख सचेतक देव गुरुङ थिए । नेकपा विभाजनपछि रिक्त रहेको एमालेको प्रमुख सचेतक पदमा भट्टराई चयन भएसँगै उनले ओलीको खास सांसदको पहिचान बनाएका थिएका छन् ।
केहि वर्ष मंसिर ०७८ को एमाले महाधिवेशन भट्टराईको राजनीतिक जीवनका लागि खतीको परिघटना भइदियो । सौराहा महाधिवेशनमा भट्टराई केन्द्रीय सदस्यमै परेनन्, अध्यक्ष ओलीको एकछत्र र उनको रोजाइमा केन्द्रीय सदस्य चयन भइरहेका बेला ओलीको विश्वास पात्र भनिएका भट्टराई केन्द्रीय सदस्य चयन नहुँदा खोटाङ जिल्लामा उनको राजनीतिक छवि कमजोर बनेको छ । पहिला नै केन्द्रीय सदस्य भइसकेका भट्टराई ओलीको रोजाइमा नपरेका बेला जिल्लाबाट उषाकला राई भने केन्द्रीय सदस्यमा परिकी थिइन् ।
४ मंसिरको प्रतिनिधिसभा चुनावका लागि खोटाङबाट भट्टराई र राई दाबेदार देखिएका छन् । ०५६ सालबाट निरन्तर चुनावमा उठ्दै आएका भट्टराई ०७० र ०७४ मा निर्वाचित भएका हुन् । अहिलेको चुनावमा भट्टराई र राईमध्ये कसले टिकट पाउँछन् भन्ने प्रस्ट भइसकेको छैन ।
खोटाङमा भट्टराई र राईबीच टिकटका लागि जति दाबेदारी छ, त्यस्तै स्थिति छ भोजपुरमा शेरधन राई र कृपासुर शेर्पाबीच । भोजपुरमा ०५६ सालबाट निरन्तर चुनाव लड्दै आएका शेरधन ०७४ मा प्रदेशसभामा ओर्लिएर मुख्यमन्त्री भएका थिए । त्यसकै रापतापले राईको नाम प्रतिनिधिसभाका लागि एकल सिफारिस हुने चर्चा भइरहेको थियो । ०७० मा चुनाव जितेर आएका शेर्पाले पनि दाबी नछोडेपछि राई एकल रूपमा सिफारिस हुन सकेनन् । अर्थात्, राई र शेर्पामध्ये कसले टिकट पाउँछ भन्ने अहिले प्रष्ट भन्न सकिने अवस्था छैन ।
दुवै जना टिकटका लागि दौडमा रहेका छन् । यी दुई नेताबीच व्यक्तिगत सम्बन्ध पनि तिक्ततापूर्ण छ । त्यसैले, जसले टिकट पाए पनि त्यसको असर चुनावी परिणाममा पर्नेसम्मको विश्लेषण भइरहेको छ । वरिष्ठताका आधारमा एमालेका स्थायी कमिटी सदस्य भएका राई अगाडि रहेका छन् । तर, जनस्तरमा प्रभाव भने शेर्पाले बढ्ता देखाइरहेका छन् । त्यसैले उनीहरूबीच देखिएको टसलको प्रभाव चुनावमा देखिने आकलन भइरहेका बेला नेताहरूको व्यवस्थापन एमालेभित्र जटिल देखिन थालेको छ ।
गठबन्धनभन्दा गाह्रो आन्तरिक लडाइँ
खोटाङ र भोजपुरमा जस्तो हालत देखिएको छ, त्यसको प्रतिबिम्ब दोलखामा पनि छ । एमालेका नेताहरू आनन्द पोखरेल र पार्वत गुरुङबीच कसले प्रतिनिधिसभाको टिकट उछिट्याउने भन्ने शक्तिसंघर्ष चलिरहेको छ । पार्वत गुरुङ निवर्तमान सांसद हुन् । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत भइसकेका छन् । गुरुङभन्दा अघि नै पोखरेल सांसद र पर्यटनमन्त्री भइसकेका कारण उनी आफूलाई वरिष्ठ ठान्छन् ।
यस्तै परिघटना छिमेकी जिल्ला रामेछापमा पनि देखिन्छ । एमालेका प्रदेश सांसद कैलाश ढुंगेल र विद्यार्थी नेता माधव ढुंगेलबीच टिकटका लागि प्रतिस्पर्धा चर्को छ । कैलाशले बागमती प्रदेश सरकारको अर्थ मन्त्रालय चलाइसकेका छन् । उनले गृहजिल्लामा ठूलो बजेट लगेका छन् ।