सहिदको स्मृतीकरण परिवारबाटै


बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिका–६ हब्रहवामा भर्खरै बनेको दुई तले घरको बार्दलीबाहिर दुईवटा फोटो राखिएको छ। उस्तै फोटो बार्दलीको भित्रपट्टि पनि छ। उत्तर मोहोडाको बार्दलीबाहिर सिमेन्टका अक्षरले लेखिएको छ, ‘सहिद ओमकुमार थारू र सहिद भरतकुमार थारू।’

तल्लो तलमा सातवटा कोठा छन्। घरको पूर्व र उत्तरमा बरण्डा छ। पूर्वीतिर दुईवटा सटर पनि छन्। आलिसान लाग्ने भवन झट्ट हेर्दा कुनै सहिद प्रतिष्ठानको कार्यालय हो कि जस्तो भान हुन्छ। तर, यो घर सहिद परिवारको हो। यो घरका सहोदर दाजुबहिनी जनयुद्धमाा सहिद भएका छन्। छोराछोरीको सम्झनामा बाबु श्री थारूले सहिदकै नाम र फोटो राखेर घर बनाएका हुन्। ‘छोराछोरी दुबै जनयुद्धमा सहिद भए। राज्यले २० लाख रुपैयाँ राहत दियो। उनीहरूकै नाम र फोटो राखेर घर बनाएको हुँ’, उनले चित्त बुझाए, ‘समाज बदल्छु भनेर गएका थिए। फर्केर आएनन्। चिनोको रूपमा अब यही फोटो र घर मात्र बाँकी छ।’

माओवादी जनयुद्धका क्रममा १ फागुन २०५८ मा उनले ४ भाइ छोरामध्ये कान्छा ओमकुमार ‘ श्रीकान्त’ लाई गुमाए। राप्तीसोनारी–६ जरैयामा जनयुद्ध दिवस मनााउन गेट बनाउँदै गर्दा सेन्ट्रीमा बसेका ओमकुमारलाई सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो। ६ कक्षा पढेर माओवादीमा लागेका उनको एक वर्ष मात्र भएको थियो। ‘दाइको हत्याको बदला लिन्छु’ भनेर उनकी एक मात्र छोरी भरतकुमारी ‘तारा’ पनि २९ भदौ २०५८ मा माओवादी जनयुद्धमा होमिइन्। जनमुक्ति सेनाको सेक्सन सह–कमान्डर रहेकी चौधरीले २५ फागुन २०६२ मा रुकुमको खारा बेसक्याम्पस आक्रमणका क्रममा ज्यान गुमाइन्।

‘परिवर्तनका लागि जनयुद्धमा जान्छु भनेपछि मैले नाइ भन्न सकेन’, बाबु श्रीले भने, ‘जमिन्दारबाट गरीबलाई हेला हुन्थ्यो। न्याय दिलाउँछौं भनेर लागे। गाउँबाट शोषक सामन्त लखेटिए पनि। उनीहरूले रोजेको बाटोमा मेरो साथ र सहयोग थियो।’ सहिदको बलिदानीबाट देशमा संविधासभा, गणतन्त्र, समावेशीता आएको उनले बुझेका छन्। उनी थोरै निराशा छन्, ‘सोचे जत्तिको त उपलब्धी भएनन् कि रु अझै सम्भव छ भनेर माओवादीको साथ छोडेका छैनौं।’

राप्तीसोनारी–६ हब्रहवाको बाँके सहिद स्मृति पार्क संरक्षण केन्द्रको परिसरमा एउटा शालिक छ। जनमुक्ति सेनाका सेक्सन कमान्डर बुद्धिबल पुन मगरको अर्धकदको मुठ्ठी कसेर अभिभादन गर्र्दै गरेको शालिक आमा पास्सी पुन मगरले निर्माण गरेकी हुन्। एक मात्र छोरो बुद्धिबलको २७ कात्तिक २०६१ मा सुर्खेतको बोटेचौरमा नेपाली सेनासँग भिडन्तमा निधन भयो। आमा पास्सीले छोराको शालिक ठड्याइन्। ‘१ लाख रुपैयाँ त मूर्तिमै लाग्यो। फलामे ढोका, टिनको छानो र पर्खाल लगाउँदा सबै गरी ३ लाख रुपैयाँ भन्दा बढी खर्च भयो’, उनले दुःख पोखिन्, ‘६र७ वटा सन्तान जन्माएकी थिए। कोही एक वर्ष त कोही दुई वर्षमै मरे। एक छोरा र एक छोरी मात्र बाँचे । त्यो छोरो पनि सहिद भयो। माया लाग्दा शालिक हेर्छु। चित्त बुझाउँछु ।’ उनका बुढाबुढी अहिले छोरीज्वाइको साहारामा छन्।

सहिद परिवारका सदस्य तथा माओवादीका राप्तीसोनारी गाउँपालिका कमिटीका सचिव सूर्यप्रकाश घर्ती मगर संक्रमणकालीन न्यायका लागि राज्यले घटनाबारे सत्यतथ्य जानकारी दिने, मेलमिलाप गराउने वा क्षमादान दिने, पीडित परिवारलाई परिपूरण, गम्भीर मानव अधिकार उल्लंघनमा अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने र सहिद, बेपत्ता तथा पीडित व्यक्तिको नाममा स्मृृतिकरण गर्नुपर्ने बताउँछन्। द्वन्द्वपीडितको घाउमा मल्हम लगाउनुपर्र्ने राज्यले बाँकेमा सहिद वा बेपत्ताका नाममा स्मृतिकरण गर्न कुनै काम नगरेको उनको गुनासो छ। राज्यको तर्फबाट सहिद र बेपत्ता परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिनेबाहेक अरू कुनै काम भएका छैनन्।

माओवादीले बाँकेको कोहलपुरमा सहिद प्रतिष्ठान नेपालको भवन बनाएको छ। बाँके सहिद स्मृति पार्क संरक्षण केन्द्रले राप्तीसोनारी–६ मा हुलाकी राजमार्गको पूर्वी किनारमा बाँके जिल्लाका सहिद तथा बेपत्ता परिवारको स्मारक बनाएको छ। माओवादीबाट बाँके क्षेत्र नं। १ बाट निर्वाचित सांसद तिलक परियारले निर्वाचन क्षेत्र विकास कोषबाट स्मारक निर्माण गरेका हुन्। हुलाकी राजमार्गकोे पश्चिमतिर केन्द्रको आफ्नैै सभा हल पनि हब्रहवामै छ। जसमा राप्तीसोनारी गाउँपालिकाले पनि आर्थिक सहयोग गरेको छ। राप्तीसोनारी–२ कञ्चनपुरमा पनि संविधानसभा सदस्य अशोक रोकायाले निर्वाचन क्षेत्र विकास कोषबाट सहिद स्तम्भ बनाएका छन्।

स्थानीय शान्ति समितिले २०७३ सम्म बाँके जिल्लामा सशस्त्र द्वन्द्वमा २४४ जना सहिद र ६९ जना बेपत्ता भएको सूची तयार गरेको समितिका तत्कालीन सचिव पिताम्बर आचार्यले बताए। माओवादी निकट सहिद प्र्रतिष्ठान नेपाल कोहलपुर शाखा कार्यालयले बाँकेका सहिद तथा बेपत्ताहरूको संक्षिप्त जीवनीसम्बन्धी प्रकाशित गरेको पुस्तक बलिदानमा सुरक्षाकर्मीबाट बाँकेमा १०१ सहिद ९९६ जनाको जीवनी प्रकाशित० र
१५४ जना बेपत्ता भएको उल्लेख गरेको छ। जसमा राप्तीसोनारीका ४९ जना सहिद र १५ बेपत्ताको नाम उल्लेख छ। बाँके सहिद स्मृति पार्क संरक्षण केन्द्रका अध्यक्ष नरबहादुर पुनले राप्तीसोनारीमा मात्र सहिद र बेपत्ताको संख्या ६७ भएको बताए।

राप्तीसोनारी–६ मा मात्रै ११ सहिद र २ बेपत्ता भएको उनले बताए। जनयुद्धको बेला माओवादीले बाँकेको राप्ती पारीको दुर्गम फत्तेपुर, बैजापुर, बिनौनालगायतका गाविसहरूमा जिल्ला जनसरकार गठन गरी नयाँ सत्ताको अभ्यास गरेको थियो। माओवादीका नाममा होस् वा सघाएको भन्दै सुरक्षा फौजले गस्तीका क्रममा धेरैलाई सहिद तथा बेपत्ता पारेको उनी बताउँछन्। यो समाचार अन्नपूर्ण पोष्ट डट कमबाट साभार गरिएको हो

प्रतिक्रिया दिनुहोस