काठमाडौं : आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।
लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका केही स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
अहिले बिहान प्रदेश १, मधेस र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ । भारतको उत्तर–पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ ।