काठमाडौं : ३० फागुन २०७५ को दिन थियो । उपसचिव ईश्वरी पोखरेल दौरासुरुवालमा ब्यानरसहित माइतीघरमण्डला पुगे, धर्नाका लागि । त्यहाँ ठूलो संख्यामा तैनाथ थिए, प्रहरी । कारण, त्यसदिन नेकपा क्रान्तिकारी विप्लवको ‘नेपाल बन्द’ थियो ।
जब पोखरेल ब्यानरसहित धर्नामा बसे, प्रहरी आए र भन्यो, ‘सर तपाईं यहाँ यसरी बस्न मिल्दैन ।’ ब्यानर प्रहरीले च्यातचुत पार्य, उनलाई उठाइयो । पोखरेलको माग थियो, ‘सार्वजनिक प्रशासनमा सुशासन कायम हुनुपर्यो ।’
‘त्यसो त, म धर्नामा बस्दै छु भनेर प्रहरीदेखि प्रधानमन्त्री कार्यालयसमेतलाई जानकारी गराएको थिए“, तर कसैले रेस्पोन्स गरेको थिएन,’ उपसचिव ईश्वरी पोखरेल सम्झन्छन्, ‘त्यो दिन त्यत्तिकै भयो । भोलिपल्ट फेरि पुगें । उसैगरी प्रहरी आए, उठाए र स्वास्थ्य चेकजाँचका लागि वीर अस्पताल लग्यो ।’
अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान प्रमुख आयुक्त प्रेम राई गृहसचिव थिए । उनकै निर्देशनमा कर्मचारीको एउटा टोली वीर अस्पलात पुग्यो र भन्यो, ‘सर, तपाईंले यसरी बस्न मिल्दैन । तपाईंको माग पूरा हुन्छ ।’
त्यही टोलीमा एक ‘मानवअधिकारीवादी’ नामक बिचौलिया पनि थिए । वीर अस्पतालबाट टोली जिल्ला प्रशासन कार्यालय पुग्यो र प्रमुख जिल्ला अधिकारीको समन्वयमा कागजपत्र गरियो, ‘मुलुकमा अब सुशासन कायम गरिनेछ ।’ त्यही बिचौलियको अगुवामा कागजमा हस्ताक्षर गरेर पोखरेल छुटे । ‘त्यो एउटा नाटक थियो । मानवअधिकारवादी हुँ भन्नेलाई त्यसपछि मैले अहिलेसम्म भेटेको छैन,’ पोखरेल हाकाहाकी भन्छन् ।
‘रिटायर्ड’ हुन आठ महिना मात्रै बाँकी छ । उनको कार्यालय सिंहदरबारभित्र शिक्षा मन्त्रालयको चौथो तलामा छ । त्यहीँ बसेर दैनिकी सम्हालिरहेका छन् । उनले ‘के गर्यो भन्ने रु’ प्रश्न उठ्लान् । तर, ‘शैक्षिकस्तर सुधार्न’ उनले थुप्रै अध्ययन–अनुसन्धान गरेका छन् । यद्यपि, उनको ‘खास सुनुवाइ’ अहिलेसम्म भएको छैन ।