प्रदेश १ को मुख्य न्यायाधिवक्तामा परिवर्तन राई

विराटनगर : प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राईलाई नियुक्त गर्ने भएको छ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले यसअघि नेकपा ९एकिकृत समाजवादी० निकट बुद्धिजिवी परिषद् मोरङ अध्यक्ष रहेका अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको थियो।

श्रेष्ठले बिहीबार मुख्य न्यायधिवक्ताबाट राजीनामा दिएपछि राईलाई नियुक्ति गर्ने भएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।

पार्टीको सहमतिअनुसार मुख्य न्यायाधिवक्तामा रहेर आधा—आधा कार्यभार सम्हाल्ने सहमतिअनुसार आफूले राजीनामा दिएको अधिवक्ता श्रेष्ठले बताउनु भयो।

उनले भने,‘पहिलेको सहमतिअनुसार राजीनामा दिएको हो, आधाआधा चलाउने भन्ने सहमति भएको थियो त्यहीअनुसार हो।’

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मुख्यमन्त्री कार्यालयबाट परिवर्तन राईको नियुक्तिको सिफारिस आएको थियो।

‘राजीनामा र सिफारिस दुईवटा नै हाम्रो कार्यालयमा सिफारिस भएर आएको हो,’उनले भने,‘भोलि शपथगहण गराउने भन्ने कुरा भएको छ।’

प्रतिक्रिया दिनुहोस