फूलजोर खोलाले गाडी बगायो, चालकसहित ३ जनाले भागेर जोगाए ज्यान

सर्लाही : सर्लाहीको परवानिपुर देउरालीबाट घारिबथानतर्फ जाँदै गरेको एउटा म्याजिक गाडी मंगलबार दिउँसो फूलजोर खोलामा आएको बाढीले बगाएको छ।​

डिसहोमका कर्मचारी मर्मतको काम गर्दै हिँडिरहेका बेला लालबन्दी नगरपालिका १५ परवानीपुर देउरालीबाट ईश्वरपुर नगरपालिका १२ घारिबथानतर्फ जान खोज्दा फूलजोर खोलामा आएको बाढीले उनीहरु सवार बा १९ च ९६६० नम्बरको म्याजिक बगाएको हो।

माथि चुरे डाँडातिर ठूलो पानी पर्नासाथ खहरे खोलामा दिउँसो ३ बजेतिर एक्कासी बाढी आएको थियो।

डिसहोमको म्याजिक झण्डै दुईसय मिटर जति बगाएर घारिबथान र देउरालीका मानिसले शव जलाउने चिताघर नजिकै पुर्‍याएको घारिबथानका स्थानीय चन्द्र कार्कीले बताए। खोलाले गाडी बगाउनासाथ भित्र रहेका चालकसहित ३ जनाले भने तत्कालै भागेर ज्यान जोगाएका कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस